प्रम ओलीद्वारा विद्युत प्रणालीलाई भूमिगत गर्ने कार्यको शुभारम्भ


२०७६ फागुन ५ काठमाणडाै प्रधानमन्त्री के पी शर्मा ओलीले काठमाडौं उपत्यकाका दुई वटा वितरण केन्द्र महाराजगञ्ज र रत्नपार्क केन्द्रबाट वितरित विद्युत प्रणालीलाई भूमिगत गर्ने कार्यको शुभारम्भ गर्नुभएको छ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीलाई भूमिगत, र स्वचालित गर्ने कार्य अन्तर्गत् प्रधानमन्त्री ओलीले काठमाडौं महाराजगंजबाट सो कार्यको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा प्रधानमन्त्री के पी शर्मा ओलीले आधुनिक प्रविधिको प्रयोग गरी सडकका पोलहरुमा झुण्डिएका तारहरुलाई भूमिगत गरेपछि शहरी सौन्दर्यकरणमा ठूलो सहयोग पुग्ने बताउनु भयो । बिजुलीका तार सँगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले निकट भविष्यमा सडकमा तारका झुत्ताहरु नदेखिने उहाले वताउनु भयो । प्रधानमन्त्री ओलीले विकास सबैको साझा अभिभारा भएको बताउँदै विकासका लागि कोही पनि पक्ष र विपक्ष नहुने वताउनुभयो । कार्यक्रममा उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले विद्युतीय तार तथा अप्टिकल फाइबर भूमिगत गर्ने कार्य शुरुवात भएसँगै विद्युत वितरण प्रणालीमा नयाँ युगको शुरुवात भएको बताउनु भयो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ड्रिलिङ मेसिनको प्रयोग गरी तारहरु भूमिगत गरिने जानकारी दिनुहुदै तारहरु भूमिगत भएसँगै शहरको सुरक्षा र सौन्दर्यकरणमा उल्लेख्य सुधार हुने बताउनु भयो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण र नेपाल विद्युत प्राधिकरणको लगानीमा कुल ७ अर्वको लागतमा २०२१ अक्टोबर सम्ममा तारहरु भूमिगत गर्ने कार्य सम्पन्न हुने लक्ष्य रहेको छ । दोस्रो चरणमा काठमाडौं उपत्यकाका बाँकी स्थानमा तारहरु भूमिगत गरिनुका साथै काठमाडौं उपत्यका बाहेकका पोखरा, चितवन लगायतका क्षेत्रमा पनि विस्तार गरिने लक्ष्य छ ।