रुकुम पूर्वका हिमाली क्षेत्रमा हिमपात


२०७६ माघ २६ काठमाडौं - रुकुम पूर्वका उच्च लेकाली क्षेत्रमा ब्यापक हिमपात भएको छ । हिमपातसँगै कम हुँदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो । जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश क्षेत्रमा हिमपात भएको छ ।

यसपटकको हिमपातसँगै जिल्लामा यस वर्षको मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म १०–१२ पटकभन्दा बढी हिउँ परिसके को छ । हिउँ परेपछि पुग्ने सेवाग्राही र काम गर्ने कर्मचारी तथा जनप्रतिनिधिलाई समस्या भइरहेको गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाहीले बताउनुभयो । हिमपात का कारण सेवाग्राही गाउँपालिका को कार्यालयसम्म पुग्न नसक्ने भएपछि कर्मचारीलाई नै टोलटोलमा पठाएर दोस्रो चौमासिकको योजना सम्झौताको काम गरिहरहेको पनि उहाँले जानकारी दिनुभयो । हिमपातकै कारण मङ्सिरको अन्तिम सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग पनि अझै सञ्चालन हुन सकेको छैन ।