कोरोना उपचार कोषमा पूर्वराजाकाे २ करोड जम्मा गर्ने घोषणा


२०७६  चैत १८  काठमाडौं -  
पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमण विरुद्ध लड्न नेपाल सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गर्नुभएकाे छ  । 
पूर्व राजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गर्दै भन्नु भयाे , ‘दुःख-कष्ट र आपत-विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ।

 पूर्वराजा शाहले राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने बताउनुभयाे । 

लकडाउनमा गैह्रजिम्मेवार हुने छुट कसैलाई छैन पूर्वराजा शाहले लकडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएछन् । शाहले भन्नुभयाे, ‘यो अवस्थाबाट मुक्त हुन ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ ।

 महामारीविरुद्ध अहोरात्र खटिनेहरुलाई धन्यवाद दिँदै पूर्वराजाले आफ्नो वक्तव्यमा भन्नुभयाे, ‘महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्नुहुने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्‍याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति हामी आभारी छौँ ।

 त्यसैगरी, आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोनाविरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले यसको उच्च सराहना गर्ने बताएउनुभएकाे थियाे ।