फेरी ब्याक गियर : प्रम ओलीले भने- अध्यादेश फिर्ता लिन्छु !


२०७७ बैशाख ११ काठमाडौं - बाहिरबाट र पार्टीभित्रबाटै समेत चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अन्तत विवादास्पद अध्यादेश फिर्ता लिन तयार भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार विहान नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओलीवीच अध्यादेशबारे छलफल भएको थियो । दुई अध्यक्ष बीच विकसित घटनाक्रमबारे छलफल भएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन। छलफलमा प्रचण्डले नेताहरुको माग वमोजिम तत्काल स्थायी कमिटीको बैठक बोलाउन र विवादास्पद अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले पनि अध्यादेश फिर्ता लिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिँदा तत्काललाई पार्टीभित्रको दुर्घटना टर्ने नेता नेपालले बताएको स्रोतको दाबी रहेकाे छ । दुबै नेताले प्रधानमन्त्री ओलीलाई राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर सम्भाव्य दुर्घटना टार्न सुझाव दिएका छ । छलफलमा प्रधानमन्त्री ओलीले पनि अध्यादेश फिर्ता लिने वचन दिएको बालुवाटार स्रोतले अनलाइन खबर लाई बताएकाे छ । प्रधानमन्त्रीले कानूनविदहरुसँग परामर्श गर्ने र अध्यादेश फिर्ता लिने बताएको स्रोतको भनाइ छ । संविधानको धारा ११४ -२) ख मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जुनसुकै बेलामा फिर्ता लिन सक्ने प्रावधान छ ।