एसईई जेठ अन्तिम सातामा गर्न सिफारिस - सामाजिक दूरी कायम गरेर वैशाख २५ गतेपछि विद्यार्थी भर्ना !


वैशाख १९ काठमाडौं - लकडाउनका कारण नेपालकाे शिक्षा क्षेत्रमा पनी प्रभाव परेकाे छ। विज्ञ सम्मिलित कार्यदलले माध्यमिक शिक्षा परीक्षा (एसईई) जेठ अन्तिम साता गर्न सिफारिस गरेको छ । लकडाउन खुलेको ३ सातापछि कक्षा १२ र एसईई र को परीक्षा गर्न सरकारलाई सिफारिस गरेको हो । एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिने सुझाव कार्यदलले दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न पनि सुझाव दिइएको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट परीक्षा सञ्चालन गर्न सकिने बताएको हो ।

प्रतिवेदनमा यही वैशाख २५ गतेभित्र १ देखि ९ कक्षासम्मको नतिजा प्रकाशन गर्ने, २५ गतेपछि सामाजिक दूरी कायम गर्दै भिडभाड नहुने गरी भर्ना प्रकिया अगाडि बढाउने र विद्यार्थीले आफ्नो घरबाट खाना खाएर परीक्षा दिन जान सक्ने गरी परीक्षा केन्द्र बनाउने सुझाव छ । सो सुझावलाई मन्त्री पोखरेलले उच्चस्तरीय समिति र मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने बताउनुभएको छ । मन्त्री पोखरेललाई हिजो राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा परीक्षासम्बन्धी सुझाव समितिका संयोजक डा पौडेलले सामाजिक दूरी कायम गरेर विद्यार्थी भर्ना शुरु गर्न सुझाव प्रतिवेदन बुझाउनुभएको हो ।