अन्तर्राष्ट्रिय हवाइ सेवा असार १६ गतेसम्म बन्द । लकडाउन जेठ ३२ सम्म


२०७७ जेठ - काठमाडाै - नेपाल सरकारले कोभिड–१९ को संक्रमण फैलिन नदिन लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेकाे गरेकाे छ । । यस अगाडी थपिएको बन्दाबन्दीको समय यही जेठ २० राति १२ बजे सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा नेपाल सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । साथै बैठकले अन्तराष्ट्रिय सीमानाका र विमानस्थल आगामी असार १६ गतेसम्म बन्द गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले जेठ मसान्तसम्म बन्दाबन्दी लम्ब्याउने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । बन्दाबन्दी अवधिमा यसको ढाँचाबारे कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय गर्ने मन्त्री डा खतिवडाको भनाइ छ । डा खतिवडाका अनुसार सीमा क्षेत्रमा आवागमन स्थगन गर्दै गर्दा त्यहाँबाट आउने जाने कुरालाई अलि कडाइ गरिने र सीमा वारिपारि गर्ने विषयमा विश्व स्वास्थ्य संगठनको मापदण्डानुसार जाँच गरेर मात्रै लाने वा लैजाने कुरा पालना गर्नगराउनका लागि छिमेकी मुलुकसँग सहकार्य गर्ने निर्णय भएको छ । साथै अहिले सीमा क्षेत्रहरुमा सीमा वारपारका गतिविधि र मान्छेको आवागमनलाई कडाइका साथ पालना गराउन सशस्त्र प्रहरीको गस्ती बढाउने एवं जनशक्ति थप्ने र त्यसका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई बढी परिचालन गर्ने विषयमा पनि छलफल भएको छ । आज बसेको सुरक्षा परिषद्को बैठकमा अन्तरराष्ट्रिय सीमा विवाद तथा कोभिड–१९ सँग सम्बन्धित अन्तरराष्ट्रिय जोखिम र चुनौती सम्बोधन गर्न सुरक्षा निकायलाई कसरी परिचालन गर्न सकिन्छ भन्नेबारे छलफल भएको अर्थमन्त्री डा खतिवडाले जानकारी दिनुभयो ।