विदेशबाट नेपालीहरू ल्याउने निर्णय, यस्ता व्यक्ति छन मुख्य प्राथमिकतामा


२०७७ जेठ १६ - काठमाडाैँ - नेपाल सरकारले बिदेशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताकाे अाधारमा बर्गीकरण गरी नेपाल फर्काउने निर्णय गरेको छ ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई उद्दार गरी फर्काउने निर्णय गरेको हो । जसमा तेस्राे मुलुकमा आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई पहिलाे प्राथमिकतामा राखिएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिनुभयाे ।

यस्तै श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्त रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई पनी स्वदेश फर्काइने उहाँले जानकारी दिनुभयाे । नेपाल सरकारले बिदेशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट नेपालीहरूकाे उद्धार गर्नेछ ।

साथै सरकारी सेवामा रहि तालिम वा अध्ययनका लागि विदेशमा रहेका नागरिकले पनी सम्बन्धित देशको दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने छ । सचिव विडारीका अनुसार प्राप्त विवरण परिचान गरी परराष्ट्रमन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिनेछ । पर्यटन मन्त्रालययले हवाई उडानको व्यवस्था गरेर उनीहरुलाई नेपाल ल्याउने तयारी भएकाे छ । त्यसै गरी भारतमा रहेका नेपाली नागरिकहरुलाई ल्याउन साे समितिले नेपालका विभिन्न नाकाहरुलाई आधिकारिक रुपमा तोकेको छ ।

जसमा पशुपतिनगर, काँकडभित्ता, रानी, सुनौली, ठाडी, माडर, मलंगवा, गौर, विरगञ्ज र महेशपुर नाका तोकेको छ । यसैगरी बेहलिया, तौलिहवा, कृष्णनगर, जमुनाह, गौरिफण्टा, गड्डाचौकी, झुलाघाँट र दार्चुलाका नाकाहरु तोेकिएकाे विडारीले बताउनुभयाे । मन्त्रिपरिषद बैठकले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश ल्याउने निर्णय यस अगाडी गरिसकेको थियाे ।