दशगजा क्षेत्रमा भारतले बनाएकाे अबैध संरचना तत्काल हटाउन तथा बिओपी बढाउन निर्देशन


२०७७ जेठ १६ काठमाडाै - संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल भारत सिमा दशगजा क्षेत्रमा रहेको बिभिन्न भौतिक संरचनालाई तत्काल हटाउन सरकारलाई निर्देशन दिएको छ । भारतसँगको सीमा क्षेत्रका विषयमा छलफल गर्न बसेको समितिको बैठकले दशगजा क्षेत्रमा भारतले निर्माण गरेका संरचना र मानववस्तीलाई हटाउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले भारत नेपाल सीमामा रहेको दशगजा क्षेत्रमा अन्तर्राष्ट्रिय कानून र मूल्य मान्यता विपरित रहेका वस्ती, सडक, बाँध तथा तटवन्धलाई भत्काउन र हटाउन निर्देशन दिएको हाे । समितिको निर्देशनमा भनिएको छ ‘अन्तर्राष्ट्रिय कानुन र मूल्य मान्यता विपरित सीमा क्षेत्रको दसगजा (नो म्यान्स ल्याण्र्डमा रहेका वस्ती, सडक, बाँध तटवन्धलाई हटाउन, भत्काउन तत्काल आवश्यक पहल गर्ने । यस्तै दशगजा खालि गरेपछि नापी कार्यालय सहितको एकिकृत कार्यालय र स्थानीय बासिन्दालाई प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन समेत निर्देशन दिएको हाे । समितिले ठूला नदीमा आफैले सीमा स्तम्भ बनाउन समेत सरकारलाई निर्देशन दिएको छ ।

अहिले सीमामा ठूला नदीमा सीमा स्तम्भ बनाउने जिम्मा भारत सरकारको रहेको छ । तर भारतले सहमति अनुसार सीमा स्तम्भ निर्माण नगरेपछि समितिले सरकारलाई आफै सीमा स्तम्भ बनाउन निर्देशन दिएको हो । जिपिएस मार्फत सीमा स्तम्भको खोजि गरी संख्या बढाउन समेत निर्देशन दिएको छ । निर्देशनमा भनिएको छ जिपिएस मार्फत सीमा स्तम्भको खोजि गरी संख्या बढाउने, ठुला नदिहरुमा सीमा स्तम्भ निर्माणको काम नेपाल सरकारलाई गर्न निर्देशन दिने समितिले सशस्त्र प्रहरी बललाई सीमा निगरानी, अवैध आप्रवास तथा तस्करी नियन्त्रणको जिम्मेवारी दिनेगरी ‘सशस्त्र प्रहरी बल ऐन २०७४’ लाई संशोधन गर्ने समेत नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिएको छ । साथै बिओपीमा रहने प्रहरीको संख्या बढाउन समेत निर्देशन दिएको छ ।