सरकारका नीति तथा कार्यक्रम बहुवर्षीय योजनाको कल्पना जस्तो भयो : देउवा


२०७७ जेठ ४ - काठमाडौ - भुपु प्रम तथा प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम माथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताउनुभएको छ । देउबाले नेपाल सरकारको आव २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उ सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको बताउनुभएको हाे । नेता देउवाले सो अवसरमा कोरोना सङ्क्रमणको जोखिमसँग जुधेर देशभरि अग्रपङ्त्तिमा काम गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सफाइकर्मीदेखि कोरोनाबाट सङ्क्रमित नागरिक र यो महामारीका कारण दुःखमा परेका किसान, स्वदेश तथा विदेशमा रोजगारी गुमाइरहेका श्रमिक, विदेशबाट घर फर्कन चाहेका तर नपाएका अप्ठ्यारोमा परेका नागरिक, बसेको ठाउँमा राहत नपाएर सयौँ किलोमिटर हिँडेर घर जान बाध्य हजारौँ मजदुर, विद्यार्थी र बेरोजगारलाई स्मरण गर्नुभयो । कोरोनाले मुलुकका सबै क्षेत्रलाई अत्यन्त नकारात्मक रुपले प्रभावित गरेको छ । यसका अल्पकालीन र दीर्घकालीन प्रभाव रहने बताउँदै नेता देउवाले सरकारका नीति तथा कार्यक्रम समस्या समाधानतर्फ उन्मुख नभएको, देशभित्र उद्योगधन्दा, निर्माण क्षेत्रमा पर्ने प्रभाव र विदेशबाट देश फर्किनेको ठूलो सङ्ख्याले बेराजगारीको समस्या भयावहरुपले बढ्ने विषयमा सम्बोधन गर्न सरकारसँग इच्छाशक्ति, क्षमता, इमान्दारी र दूरदृष्टिको नितान्त अभाव रहेको टिप्पणी गर्नुभयो । देउवाले नेपाली भुमिमा भएको अतिक्रमण र सडक निर्माणबारे छिमेकी मुलुक मित्र राष्ट्र चीनसँग समेत उच्चस्तरमा परिणाममुखी वार्ता गरी समस्याको समाधान गर्नुपर्ने तथा अघिल्लो सरकारले गरेको हालसम्मकै सबैभन्दा ठूलो सहयोगसम्बन्धी सम्झौता एमसिसीलाई यो सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गर्नुभएको थियाे ।