धुलिखेल अस्पतालमा ज्यान गुमाएका ९ दिनकी सुत्केरी महिलाकाे विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिने


२०७७ जेठ ३ काठमान्डाैं - काभ्रेकाे धुलिखेल अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका ९ दिनकी सुत्केरी महिलाकाे पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्तेष्टि गर्ने तयारी भइरहेको छ । जेठ १ गते बिहीबार राति स्वासप्रस्वासमा समस्या भएपछि धुलिखेल अस्पताल ल्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे–९ स्थित चालिसे गाउँकी २९ वर्षीया ती महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना संक्रमणको आशंकामा गरिएको उनको धुलिखेल अस्पतालमा गरिएको आरडीटी र पीसीआर परीक्षण दुवैको नतिजा पोजेटिभ आएको थियो । अस्पतालले शंका लागेर फेरि परीक्षण गर्न पठाएकाे भएपनी नेपाल सरकारबाट काेराेनाकाे कारण ज्यान गएकाे भन्ने बारे औपचारिक पुष्टि भने हाल सम्म भएकाे छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले परीक्षणहरु भइरहेको भन्दै विवरणहरु सार्वजनिक गरिने बताएका छन् । हाल डा. गुणराज लोहनीको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली र शववहान धुलिखेल अस्पताल परिसरमा रहेकाे छ ।