भारतले मिचेको नेपालकाे भूभाग फिर्ताको माग गर्दै संसद्‍मा सङ्कल्प प्रस्ताव दर्ता


२०७७ वैशाख २९ काठमाडौं - नेपालकाे पश्चिम सिमा नाकामा भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पिया धुरा लगायत का नेपालकाे भूभाग फिर्ता ल्याउन माग गर्दै सङ्घीय संसद्‍मा सङ्कल्प प्रस्ताव दर्ता भएको छ । सङ्कल्प प्रस्तावमा दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको रहेको कुरा ऐतिहासिक प्रमाण, तथ्यहरु, विभिन्न समयमा नेपाल र भारत दुवै सरकारबाट प्रकाशित नक्साले प्रमाणित गरेको उल्लेख छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदहरु रामकुमारी झाँक्री, गणेश ठगुन्ना, डा दीपकप्रकाश भट्ट, गणेशकुमार पहाडी, जीवनराम श्रेष्ठ र यज्ञबहादुर बोगटीले हिजो प्रतिनिधिसभामा सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन । तात्कालिन सन् १८१६ को सुगौली सन्धिले स्पष्ट गरेको लिम्पियाधुराबाट निस्कने कुटियाङ्दी नै महाकाली नदी भएकाले सो पूर्वको ४०० वर्गकिमि नेपाली भूभाग भारतले अतिक्रमण गरी आफ्नो नियन्त्रणमा राखेकाले सो नेपालकाे भूभाग फिर्ता लिई नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति गराउन सङ्कल्प प्रस्ताव पेश गरिएको उहाँहरुले बताउनुभयाे ।