म्याच फिक्सिङ मुद्दामा पूर्व कप्तान सागर थापासहित ६ जनालाई सफाई


२०७७ असार २ काठमाडाै - नेपाली राष्ट्रिय फुटबल टोलीका तत्कालिन कप्तान सागर थापा सहित ६ जनालाई सर्वोच्च अदालतले सफाई दिएको छ। गत ६ वर्ष अघि महानगरीय अपराध महाशाखाले तत्कालिन फुटबल टोलीका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, पूर्वखेलाडी अन्जन केसी, गोलकिपर रितेश थापा, विकास सिंह क्षेत्री र डेबिड थापालाई म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ गरेको थियो । प्रहरीले २०७२ साल असोज २७ गते उनीहरुलाई विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा पक्राउ गरेको थियो । नेपालले बिगत २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भेटिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । त्यसलगत्तै उनीहरु विरुद्ध राज्य विरुद्धको कसूरमा मुद्धा दायर भएको थियो । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि लिने गरको प्रहरीको दावी थियो । मंगलबार सर्वोच्च अदालतका न्यायाधिशद्धय आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनीहरुलाई सफाइ दिएको हो । यस अगाडी २०७५ जेठ २४ गते विशेष अदालतले उनीहरुलाई म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै उनीहरूलाइ सफाइ दिएको थियो । सर्वोच्चबाट सफाई पाएपछि सागर थापाले सत्यको जीत भएको भन्दै साकाजिक सञ्जालमा पोष्ट गरेका छन।