उद्धार यात्रु बिमान भाडा फेरि घट्यो । अब कुन देशबाट अाउदा कति ? जान्नुस


२०७७ जेठ ३१ - काठमाडौ - सरकारले विदेशबाट फिर्ता आउने नागरिकहरूका लागि तोकिएको चार्टर फ्लाइटको भाडा फेरि घटाएको छ । चार्टर फ्लाइटको भाडा महँगो भएको भन्दै चर्काे आलोचना भएपछि सरकारले शुक्रबार केही भाडा घटाएको थियो । त्यसको 24 घण्टामै फेरि भाडा घटाएको छ । यसपटक भने प्रमुख श्रम गन्तव्यहरूको मात्रै उडान भाडा घटाइएको छ । 2पटक गरेर सरकारले करिब 30 प्रतिशत भाडा घटाएको छ । भाडा घटाउन शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सका अधिकारीहरूसँग छलफल गरेका थिए । 100 डलर नबढ्ने गरी 20 प्रतिशतसम्म भाडा घटाउन नेपाल एयरलाइन्स सहमत भएको छ भने हिमालयनले गृहकार्य गरेर जवाफ दिने बताएको छ । मलेसिया र खाडीका गन्तव्यमा 90 देखि 100 डलरसम्म भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार अब मलेसियाको भाडा ४६५ डलरबाट ३७२ डलर कायम भएको छ । कुवेतको भाडा ५१० डलरबाट ४१० मा झार्ने सहमति भएको छ । जोर्डनको भाडा ७७५बाट ६७५ र साइप्रसको भाडा ८३० बाट ७३० डलर तोकिएको छ । साउदीको दमामको भाडा ५३० बाट ४३०, ५६५ बाट ४६५ र जेद्दाको ६९० बाट ५९० डलरमा झारिएको छ । त्यसैगरी दोहाबाट आउँदा यसअघि ४९० डलर लाग्ने भनिएकोमा अब ३९२ डलर कायम भएको छ । दुबईबाट नेपाल फर्किँदा ३६० डलर टिकट खर्च लाग्नेछ । यसअघि यस्तो खर्च ४५० डलर थियो । ओमानको भाडा ४६० बाट ३६८ मा झारिएको छ । बहराइनबाट फर्किने यात्रुले ३९२ डलरमा नेपाल एयरलाइन्सको टिकट पाउने छन् । यसअघि बहराइनबाट फर्किने भाडादर ४९० डलर थियो ।