तनहुँकाे पहिरो अपडेट : ६ जनाको शव निकालियो, ५ बेपत्ता


२०७७ असार २९ - तनहुँ - मनसुन सुरू भएसं सगै अविरल वर्षाका कारण आएको पहिरामा पुरिएर तनहुँमा ज्यान गुमाउनेकाे सङ्ख्या ६ जना पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका - ९ माँझ फाँटमा ४ जना, ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा १ जना र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। अविरल वर्षाका कारण पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जनाको निधन भएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिएका छन।

कमलाका २० वर्षीय छोरा राजेश भने बेपत्ता छन। कमलाका पति केशरबहादुरलाई भने उद्धार गरी उपचारका लागि अस्पताल ल्याउने तयारी गरिएको छ। सोही ठाउँकै ६० वर्षीया मैतकुमारी घर्तीको पनि पहिराले पुरिएर ज्यान गएकाे हाे । त्यसै गरी पहिराले पुरिएर म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडा बस्ने १७ वर्षीया लक्ष्मी विकको ज्यान गएकाे छ। ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा पहिराले पुरिएर बेपत्ता भएका मध्ये एक जनाको शव फेला परेको छ भने बाँकी ४ जना बेपत्ता रहेका छन।

बेपत्ताको खोजी कार्य भइरहेको ऋषिङ गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिएका छन। त्यसै गरी अविरल वर्षाका कारण गएकाे साे पहिरामाअनबहादुर थापाको घर पहिराले पुरिँदा जेठो छोरा ३० वर्षीय भेषबहादुर थापा, निजकी श्रीमती २९ वर्षीया नानुमाया, छोरी ५ वर्षीया अमिषा थापा, अनबहादुरको कान्छो छोरा २२ वर्षीय महादेव थापा र निजकी श्रीमती १९ वर्षीया मनिसरा थापा बेपत्ता छन । सोही ठाउँकै ६० वर्षीय ज्योतिमाया थापाको भने उद्धार पछि हाल उपचार भइरहेको छ।