ठोरीमा नेपाल-भारत सीमामा अवस्थित सीमा स्तम्भ उखेलेर फालियो


२०७७ साउन ४ - काठमाडौं - पर्सा जिल्लाकाे ठोरी स्थित सीता गुफा नजिकै रहेको एक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा फेला परेको छ । प्रसिद्ध धार्मिकस्थल सीता गुफादेखि दक्षिणतर्फ सोमेश्वर पहाडमा रहेको ४३६ नम्बरको सीमा स्तम्भ उखेलेर फालिएको अवस्थामा फेला परेको त्यहा खटिएका सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट ठोरीका प्रहरी निरीक्षक दीपक दाहालले जानकारी दिएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमि अयोध्या ठोरीमा पर्ने उदघोष गरेसँगै सीता गुफा क्षेत्र एका एक चर्चामा आएको थियो । प्रहरी निरीक्षक दाहालका अनुसार शनिबार मध्यान्ह १२ बजेसम्म सीमा स्तम्भ सुरक्षित नै थियो ठोरीवासीहरू शनिबार बिहान सीता गुफा क्षेत्रमा पूजापाठ गरेका थिए ।

अमृतधाराबाट जल भरेर स्थानीयले कलश यात्रासमेत गरेका थिए । भारतीय सीमा सुरक्षाबल (एसएसबी)का इन्सपेक्टरसमेत सो क्षेत्रमा खटिएका थिए । पूजापाठ सकिए पछि सबैजना आ-आफ्नो घर गइसकेपछि मात्रै दुवैतर्फका सुरक्षाकर्मी क्याम्पमा फर्केका थियौं । तर शनिबार अपरान्ह एकाएक सीमा स्तम्भ उखेलेर फालेको अवस्थामा पायौं प्रहरी निरीक्षक दाहालले भने । प्रहरी निरीक्षक दाहालले भने, ‘सीमा स्तम्भ पनि गहिरो गरी गाडिएको रहेनछ । करिब एक हात बराबर गहिरो बनाएर गाडिएको रहेछ । सीमा स्तम्भ रहेको स्थानभन्दा केही मिटर टाढा सीमा स्तम्भ फेला पारेका छौं ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले बिहान पूजापाठ हुँदासम्म नेपाल-भारत सीमामा अवस्थित सीमा स्तम्भ देखिएको तर अपरान्ह एकाएक नदेखेको बताए । पूजापाठ सकेर सबै जना फर्किएपछि सीमा स्तम्भ नरहेको खबर पाएँ । प्रधानमन्त्री ओलीले भगवान रामको जन्म ठोरीमा भएको अभिव्यक्ति आएसँगै सो क्षेत्रमा मानिसहरुको चहलपहल बढ्दै गएको छ । शनिबार गाउँपालिकाले कलश यात्रा अयोजना गर्दै भव्य पूजाअर्चना गरेको थियो । सीमा स्तम्भ एकाएक उखेलिएपछि ठोरीका बासिन्दाले भने यसलाई षडयन्त्रको रुपमा लिएका छन ।

ठोरीका स्थानीय समेत रहेका जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुर न्यौपानेले सीमा स्तम्भ विवाद खडा गरेर अहिलेको माहोललाई अन्त मोड्न खोजिएको हुन सक्ने बताए । सीमा स्तम्भ उखेलिएकोबारे माथिल्लो निकायमा जानकारी गराइसकेका छौं ।

भारततर्फका एसएसबी बल र हाम्रो टोलीले उखेलेर फालिएको अवस्थामा फेला परेको सीमा स्तम्भको सुरक्षा गरिरहेका छौं प्रहरी निरीक्षक दाहालले भने। सीमा स्तम्भ कसले र किन उखेलेर फाल्यो भन्ने विषयमा केही खुल्न नसकेको र यसबारे थप अनुसन्धान भइरहेको दाहालले बताए । भगवान राम जन्मेको भनिएको अयोध्या भूमि ठोरीबारे खोज तथा अनुसन्धान हुनुपर्ने चौतर्फी दवाब भइरहेको समयमा सो कामलाई प्रभावित पार्ने तत्वहरुले यो काम गरेको हुन सक्ने स्थानियहरू बताउछन ।