नियमित र चार्टर्ड उडान तालिका सार्वजनिक, कहाँबाट कहिले हुन्छ उडान(सूचीसहित)


२०७७ भदाै १० नेपाल सरकारले बिश्वब्यापी महामारी काेराेना भाइरस थप फैलिन नदिन राेकेकाे अन्तर्राष्ट्रिय उडान भदौ १६ देखि खुला गर्ने तयारी गरेकाे छ । सरकारको बिहीबार गरेकाे साे निर्णय सँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार एक महिना (सेप्टेम्बर )को उडान तालिका पनी जारी गरेको छ । जसमा सेप्टेम्बर १ (भदौ १६) देखि सेप्टेम्बर ३० (असोज १४) सम्मको १ महिनामा ६० वटा नियमित उडान हुने भएका छन् भने २७ वटा चार्टर उडान हुनेछ । मन्त्रालयले मंगलबारै प्राधिकरणलाई कोभिड–१९ को माहामारी कायमै भएकाबेला सरकारले तोकेका नियम तथा शर्तहरु पालना गराउँदै उडान गराउन निर्देशन दिएको छ ।

यो एक महिनाको अवधिमा १० वटा विदेशी र दुईटा नेपाली गरी १२ वटा वायुसेवाले ६० वटा उडान गर्ने छन् । सरकारले दैनिक ५ सयसम्म मात्रै यात्रु ल्याउन दिने कोटा तोकेकाले यो तालिका हेरफेर हुन सक्ने मन्त्रालयका एक अधिकारीले बताए । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को जाँच सहज नभएका मुलुकबाट नियमित उडान खुला गरेको छैन । तर, ती मुलुकमा अलपत्र परेका नेपाली ल्याउन एक महिनामा २७ वटा चार्टर उडान गर्न अनुमति दिएको छ । चार्टर उडान हुने गन्तव्यमा माल्दिभ्स, दोहा, कुवेत, जेद्दा, दमाम र रियाद छन् । यी गन्तव्यबाट नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स, कतार एयरवेज, जजिरा एयर, र सलाम एयरले चार्टर उडान गर्ने छन् ।