राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन, उहाकाे आजै अन्त्यष्टि गर्ने तयारी


२०७७ भदौ २ - पाेखरा - नेपालका राष्ट्रकवि माधव प्रसाद घिमिरेको २०७७ भदौ २ गते १०१ वर्षको उमेरमा निधन भएको छ । चार महिनादेखि गम्भीर बिरामी पर्नुभएका राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५ मिनेट जाँदा लैनचौरस्थित उहाकै निवासमा निधन भएकाे हाे । बुहारी अर्चना घिमिरेका अनुसार राष्ट्र कविको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी रहेकाे छ ।

राष्ट्रकवि घिमिरेको जन्म विक्रम संवत १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार उहाँ बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउदै आएका बहुमुखी प्रतिभा हुनुहुन्थ्यो । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् ।

घिमिरेले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाउनु भएको थियो । उहाँको नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्नर-किन्नरी (वि.सं. २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन् । घिमिरे जन्मिएको तीन वर्षमा उहाँको आमाको निधन भएको थियो ।

उहाँ ६ वर्षको हुँदा अक्षर चिनेको उहाँले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा(लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नु भएको थियो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियाे ।

१४ वर्षको उमेरमा ज्ञानपुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जनामा प्रवेश गर्नुभएको घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिर समेत खानु भएको थियो । बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा र वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादक रही काम गर्नुभएको थियो । त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य रहनुभएको थियो । वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा प्रत्यक्ष रूपमा संलग्न समेत रहनु भएका घिमिरे चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार समेत हुनुहुन्छ ।

घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्। साथै उहा वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहनुभएकाे थियाे ।