लोकल भन्दै ब्रोइलरका चल्लालाई रङ्ग लगाएर बिक्री गर्ने ४ भारतीय नागरिक पक्राउ


२०७७ असाेज १३ - काठमाडाैँ - नेपाल प्रहरीले ब्रोइलर कुखुराको चल्लालाई रङ लगाइ लोकल भन्दै बिक्री गरेको आरोपमा ४ जना भारतीय लाई पक्राउ गरेको छ । ब्रोइलर कुखुरालाई लोकल भनेर बिक्री गर्ने भारतीय नागरिकलाई महानगरीय प्रहरी बृत्त कालीमाटीले पक्राउ गरेको हाे । उनीहरुले सस्तोमा ब्रोइलर कुकुराको चल्ला ल्याएर रंग लगाएर लोकल भन्दै महँगोमा विक्री गर्ने गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ । यसरी कृत्रिम रङ्ग लगाउँदै सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गर्दा काठमाडौँ कलंकी एरियाबाट प्रेम सिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई कालिमाटी बृत्तले पक्राउ गरेको जनाएकाे हाे ।

उनीहरुले चितवनको अबिनास मोडर्न ह्याचरीबाट ब्रोइलर कुखुराको चल्ला ल्याएर रंग लगाइ महँगो मूल्यमा बेच्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटीले जनाएकाे छ । उनीहरुले विभिन्न स्थानबाट रंग लगाएर बेच्न राखेको कुखुराका चल्ला समेत बरामद गरेको छ। प्रहरीले रंग लगाएको ३ हजार ६ सय ५० वटा र नलगाएको २४ हजार ९ सय ५० वटा चल्लाहरु बरामद गरेकाे महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराले बताएका छन ।